यसरी जन्मिएको थियो जुुबु किरात राई उत्थान केन्द्र

 

२०८२ सालको देउसी भैलो तथा भेटघाट कार्यक्रममा बिमोचन गरिएको पुस्तक जुबुलेमा सचिव श्री जमिन राईज्यूले राख्नुभएको मन्तब्य

Jamin Rai
– जमिन राई, सचिब

खोलेलाई सेवो ।
मानिस सामाजिक प्राणी हो । एक अर्कासँग जति नै झगडा गरेपनि मर्दा पर्दा मानिसहरु एकजुट हुनै पर्छ । एउटै भाषा र एउटै भेगबाट देशको राजधानी काठमाडौमा आएका हामी जुबुलेहरु समेत यो कुराबाट अछुतो रहँदैनौँ । जुबु गाँऊ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित एक गाविस थियो । यो हाल थुलुङ दुधकोशी गाउँपालिकामा पर्दछ । यसको साविकका १,२,३,४,९ वडाहरू थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ४ हो भने ५–८ वडाहरू वडा नम्बर ५ हो ।
एघारौँ राष्ट्रिय जनगणना २०६८ मा यहाँको जनसङ्ख्या ३७९१ रहेको थियो जसमध्ये १८१९ पुरुष र १९७२ महिला रहेका थिए भने यहाँ ८२६ घरधुरी रहेको थियो ।

यसै जुबु गाँऊबाट नेपालका अन्य गाँउबासीहरु जस्तै रोजगार, पढाई, व्यापार व्यबसाय वा विविध कारणहरुले काठमामाडौ क्षेत्र आकर्शित गन्तब्य हुँदै आइरहेको थियो । काठमाडौ उपत्यकाका आ–आफ्नो काम गर्दै चारैतिर छरिएर बसिरहेका हामी जुबुले राईहरु संगठित रुपमा अगाडि बढ्नुपर्छ भन्ने बहस र बोध धेरै पहिलेदेखिनै हुँदै आइरहेको हो, साना साना प्रयास हुँदै आइरहेको थियो । तर २०७४ साल देखि भने यो बहसले मूर्त रुप लिएको देखिन्छ । यो प्रयासको इतिहाँसलाई संक्षिप्तमा स्मरण गर्ने अनुमति चाहान्छु ।

  •  २०७४ साल श्रावण २१ गते शनिबारको दिन काठमाडौको चाबाहिल स्थित सगरमाथा गेष्ट हाउसमा भएको ब्यापक भेलाले जुबु किरात उत्थान समाज नामक कार्य समिति गठग गर्ने निर्णय गरेयो । जसका सदस्य तथा पदाधिकारी यस प्रकार रहेका थिए
    अध्यक्षः श्री गोबरधन राई
    उपाध्यक्षः श्री निलम राई
    सचिवः श्री मदन राई
    सह सचिवः श्री सई कुमार राई
    केषध्यक्षः श्री जनी कुमार राई
    सदस्यः श्री थर्क बहादुर राई, श्री तारामान राई, श्री रामदल राई, श्री चन्द्रकला राई, श्री उमामाया राई, श्री देवकलाई राई
    सल्लाहकारः श्री राम कुमार गिरी (कानुनी सल्लाहकार), श्री बाल कुमार राई, श्री कृष्ण बहादुर बस्नेत
    यसै भेलाले प्रारम्भिक कोषको निर्माण गरि आर्थिक संकलन गर्ने निर्णयसँगै २०७४ श्रावण २१ गतेसम्म रु १,२८,९४० (अक्षरुपी रु. एक लाख अठ्ठाइस हजार नौ सय चालिस) संकलन भएको थियो । उक्त रकम तत्कालिन अध्यक्ष श्री गोवर्धन राई, सचिव श्री मदन राई र कोषध्यक्ष श्री जनी कुमार राईको नामामा खाता सञ्चालन गरी रकम जम्मा गर्ने निर्णय गरिएको थियो ।
  •  मिति २०७४ साल भदौ १७ गते शनिबारको दिन जुबु निबासी श्री निर्मला राई को उपचारको लागि आर्थिक सहयोग रु २६,४०० (छब्बिस हजार चार सय) सहयोग गरिएको थियो । साथै सोहि बैठकको निर्णयले जुबु गा.बि.स.मा चट्याङमा परि मृत्यु हुने २ जनालाई हार्दिक श्रद्धाञ्जली दिँदै मृतकको परिवारजनलाई आर्थिक सहयोग दिने निर्णय गरेको थियो ।
  •  मिति २०७५ कार्तिक १९ गते बसेको समितिको बैठकले समाजको सक्रिय तथा निस्किय सदस्यहरुलाई संस्थाको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । जसमा सक्रिय सदस्यको घर परिवारमा कसैको निधन भएमा रु १०,००० (रु. दश हजार) र निष्कृय सदस्यहरुको हकमा (विशेष गरि थुलुङ दुधकोशी गाँउपालिका वडा नं ४ र ५ का थुलुङ राईहरुलाई प्राथमिकतामा राखेर) रु ५,००० (पाँच हजार) संस्थाको तर्फबाट आर्थिक सहयोग दिने निर्णय गरिएको थियो ।
  •  २०७५ साल चैत्र १ गने शुक्रबारको दिन अध्यक्ष श्री गोबरधन राईको अध्यक्षतामा बसेको बैठकले जुबु देवा उत्थान समाज सेवालाई देवा स्थापना गर्नका लागि रु ५००० ।– (अक्षेरुपी रु पाँच हजार मात्र) र थुलुङ दुधकोसी गाँउँपालिकामा निर्माण हुन गइरहेको दुधकोसी सामुदायिक अस्पतालको निर्माणको लागि रु १०,००० (अक्षरुपी रु. दश हजार मात्र) आर्थिक साहयोग गर्ने निर्णय गरिएको थियो ।
  • २०७६ साल कार्तिक ८ गते बसेको बैठकले संस्थाको सचिवालय सदस्यको रुपमा अध्यक्ष श्री गोबरधन राई, उपाध्यक्ष श्री निलम राई, सचिव श्री मदन राई, कोषाध्यक्ष श्री जनि कुमार राई र सदस्य हेम चन्द्र राईलाई नियुक्त गरिएको थियो । सोहि बैठकले संस्थाको क्रियाशिल सदस्य रहनको लागि प्रारम्भिक कोषमा अनिवार्य योगदान रहनुपर्ने निर्णय गरेको थियो । साथै संस्थाका हरेक सदस्यहरुले मासिक रु ५० लेभि उठाउने र तीन तीन महिनामा दाखिला गर्ने । तोकिएको समयमा दाखिला नगरेमा शतप्रतिशत जरिवाना हुने निर्णय गरिएको थियो । सोहि बैठकको निर्णय अनुिसार संस्थाको पहलमा उठाइएको रकमको १० प्रतिशत संस्थाको कोषमा अनिवार्य रुपमा रहने निर्णय गरिएको थियो ।
  •  मिति २०८० असार २३ गते शनिबार बसेको शृहत भेलाले पुरानो कार्यसमिति वा प्रारम्भिक समितिलाई भंग गर्दै नयाँ ११ सदस्यिय कार्यसमिति गठन गरियो । जसमा सदस्य तथा पदाधिकारीहरु यस प्रकारका छनः
    अध्यक्षः गोबरधन राई
    उपाध्यक्षः थर्कमान राई
    उपाध्यक्षः पूर्णमान राई
    सचिवः जमिन राई
    कोषाध्यक्षः पासाङ राई
    सह–कोषाध्यक्षः फिरुस राई (बिजुली प्रसाद राई)
    सदस्यः पुष्प कला राई, अजय राई, राजन राई, गजेन्द्र राई, रुद्र बहादुर राई
  • यस नयाँ कार्यसमितिले यस संस्थालाई कम्पनी रजिष्ट्रारको कार्यलयमा २०८० मंसिर ११ गतेका दिन जुबु किराँत राई उत्थान केन्द्र नाममा संस्थालाई आधिकारिक रुपमा दर्ता गरेको थियो ।

यो संस्था निस्वार्थ रुपमा सिमित उद्धेश्यहरुका साथ स्थापना भएको भएता पनि अब यो आधिकारीक रुपमा दर्ता भएको संस्था भइसकेको छ । दर्ता भइसकेपछि धेरै अबसरको ढोका समेत खोल्नेछ । सँगसँगै दायित्व र चुनौतिहरु समेत थपिएको छ । हाम्रा कामहरुको दायरा बढाउने नबढाउने भन्ने कुरा मुख्यतः सरोकारवालाहरुको निर्देशनमा निर्भर हुनेछ । यो संस्था स्थापना हुनको लागि कोहि एकजना मात्रको प्रयास हुँदै होइन । यो सामूहिक प्रयास बाट सिर्जेको तपाई हाम्रै आफ्नै संस्था हो । यसमा मैले त एउटा इटा मात्र थपिदिएको हो । अर्को इटा थप्ने तपाई हाम्रै जिम्मा हो । एकताबाट मात्र सामुहिक सफलता प्राप्त हुन्छ । दश जनाले दश दिशामा बल प्रयोग गर्दा र २ जनाले एकै दिशामा बल प्रयोग गर्दा त्यो २ जनको बल नै जित्छ । त्यहि कारण आवश्यक पर्दा संगठित भएर अगाडि बढ्दा जस्तोसुकै समस्याको सामाधान पनि अबस्य निस्किन्छ ।

यो सँस्था तपाई हामीले उब्जाएको संस्था हो । तपाईको एक रुपैया पैसा वा एक मिनेट समय पनि यस संस्थालाई दिनुभएको छ भने तपाई यो संस्थाको सरोकारवाला व्यक्ति हुनुनहुनेछ । हामी पदाधिकारी सदस्य भनेको तपाईकै निर्देशन र चाहना अनुरुप अगाडि बढ्ने हो । तपाई यो समितिलाई अझ गतिवान , चलायमान देख्नु चाहानुहुन्छ भने त्यहि अनुरुप झकझकाउने तपाईको पनि दायित्व हो । जुबुलेहरुको विविध समस्याहरुको बारेमा छलफल गराउन चाहानुहुन्छ भने हामी तयार छौँ । यो समिति कति चलायमान हुनेछ त्यो तपाईहरुको नै चाहना र निर्देशन अनुसार हुनेछ भनी निश्चिन्त रहन आग्रह गर्दछु । यो समितिले जुबुले राईहरुको हितमा निरन्तर बिचार बिमर्श भने नगरेको होइन । जस्तो कि कुनै समय एम्बुलेन्स वा शव वहान खरिदको पनि छलफल चलेको म स्मरण गर्न चाहान्छु । काठमाडौमा हुने हामी आफ्नो मृत्यु परान्त आफ्नै गाँऊमा सँस्कार गर्ने इच्छा भएका जोकोहिले हेलिकप्टरको जोहो गर्न आर्थिक रुपले नसक्ने हुनाले त्यस्तो अबस्थामा संस्थाले एम्बुलेन्स खरिद गर्न सकिएला जसको मद्धतले यो सम्भव हुन सक्थ्यो भनि छलफल चलेको थियो तर विविध कारणले त्यो सपना हामीले अगाडि बढाउन सकेनौँ, स्थगित भयो ।
गत बर्षको देउसी देखि भने उठेको रकम देवा उत्थान तथा तोसिखोम निर्माणको लागि प्रयोग गर्ने निर्णय गरिएको थियो । यो कार्य पनि हेर्दा महत्वकांिक्ष लाग्ला तर म प्रश्न सोध्न चाहान्छु, हामीले आँट नगरे अब कसले गर्ने । हामीले आँट नगरे अर्को पुस्ताले कदापी गर्दैन र अन्ततः हाम्रो सँस्कार मर्छ ।

अन्तमाः परिस्थिति बदलिदै गएको छ । त्यो जमना यो भएन । यो जमान पछि रहँदैन । बदलिँदो समय सँगै हाम्रा नानीबाबुहरुको सामाजिक घुलमिल कम हँुदैछ । यसले हाम्रो भाषा, सँस्कार सँस्कृति लागाएतमा नकारात्मक असर पार्छ । तसर्थ। हाम्रा भोलीका कर्णधार नानीबाबुहरुलाई मोबाइल फोन, प्रविधि सँगसँगै समाज सिकाउनु पर्छ । सामाजिक कार्यमा हिँडाउनु पर्छ र सामाजिक संस्थामा आफूसँगै लिएर आउनु पर्छ । तबमात्र आज तपाई उभिनुभएको ठाउँमा भोली तपाईको छोरा वा छोरी उभिनेछ ।

Post Comment